सल्यान ।। सल्यानको ग्रामीण क्षेत्रका बालबालिकामा कुपोषणको समस्या अझै हट्न सकेको छैन । सरकारले कुपोषण हटाउन विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गरेपनि अपेक्षा गरे अनुसार कुपोषण हट्न नसकेको हो । आमाको पेटमा हुँदादेखि नै चाहिने सन्तुलित भोजनका साथै जन्मिसकेपछिको हेरचाह व्यक्तिको स्वस्थपनाका लागि महत्त्वपूर्ण हुन्छ । सन्तुलित भोजनको अभावका साथै, सानै उमेरमा बच्चा जन्माउनु, गर्भवती र शिशुले मनग्य स्याहारसुसार नपाउनु जस्ता कारणले कुपोषण घट्न नसकेको हो । स्वास्थ्य कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा जिल्लाका २ वर्षमुनिका १ दशमलव ६ प्रतिशत बालबालिकामा कुपोषण भेटिएको छ । कुपोषण हुँदा बालबािलकाको शारिरीक मात्र नभएर मानसिक अवस्थामा समेत असर गर्ने जिल्ला अस्पताल सल्यानका डा. अभिषेक सिंहले बताउनुभयो । दशवटा स्थानीय तह रहेको सल्यानमा सबैभन्दा धेरै शारदा नगरपालिकामा २ दशमलव ४ र सबैभन्दा कम कुमाखमा शुन्य दशमलव ६ प्रतिशत बालबालिकामा कुपोषण भेटिएको छ । यस्तै, सिद्धकुमाखमा २ दशमलव ३ प्रतिशत, त्रिवेणीमा २ दशमलव २ प्रतिशत, छत्रेश्वरीमा २ दशमलव १ प्रतिशत, बागचौरमा १ दशमलव ८ प्रतिशत, दार्मामा १ दशमलव ६ प्रतिशत, बन्गाड कुपिण्डेमा १ दशमलव ५ प्रतिशत, कपुरकोटमा १ दशमलव ३ प्रतिशत, कालिमाटीमा १ प्रतिशत बालबालिकामा कुपोषण रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । कुपोषण हटाउनु स्थानीय सरकारको पनि मुख्य सरोकारको विषय बनेको छ । शारदा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिरेन्द्र हमालले पालिकाले कुपोषण घटाउन बजेट नै छुट्याएर काम थालेको जानकारी दिनुभयो ।
सल्यानका बालबालिकामा कुपोषणको समस्या अझै हट्न सकेन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।