काठमाडाैं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आज सुनसरीको दुहवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराउनुभयो ।सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रशंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्न सक्ने भन्दै त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने धारणा राख्नुभयो । उहाँले यसभन्दा अघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी गर्नुभयो । एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यक्ता रहेको जिकिर गर्दै गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कंगाल बनाएको आरोप पनि उहाँले लगाउनुभयो ।





