काडमाडौं ।। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भेटवार्ता भएको छ।
बुधबार बिहान एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन्। उनी झन्डै ६ महिनापछि बालुवाटार पुगेका हुन्। भेटका क्रममा ओलीले देउवासामू चार कुरा राखेका थिए।
सरकारले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेमा आफूहरूसँग परामर्श नगरेको ओलीले असन्तुष्टि जनाएका थिए। उनले आगामी निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन्। यसका साथै शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगोस् भन्नेमा सरकार गम्भीर हुनुपर्ने उनले बताए। सरकारले प्रतिनिधि सभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयक छलफलका लागि पेश गरेको थियो। सरकारले यस्ता विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षीसँग छलफल नगरेकोप्रति पनि ओलीले गुनासो गरेका थिए।ओलीले राष्ट्रपतिले फिर्ता गरेपछि फेरि संसदमा पुगेको नागरिकता विधेयक सरकारले हुबहु फेरि प्रतिनिधि सभाबाट पारित गरेकोप्रति पनि असन्तुष्टि जनाएका थिए। यसका साथै मूल्यवृद्धिले जनताको दैनिकी निकै कष्टकर भएको भन्दै ओलीले भेटमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए।
ओलीले यीबाहेक अहिलेको सत्ता गठबन्धनबारे पनि देउवासँग कुरा गरेका थिए। गठबन्धनले निषेधको राजनीति अघि बढाएको ओलीको आरोप थियो। एमालेलाई निषेध गर्नका लागि सत्ता गठबन्धन ७ दलीय पुगेको र अब ८,९, १० कति पुर्‍याउनुहुन्छ भन्दै ओलीले प्रश्न गरेको ओलीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here