काठमाडाैं ।। मङ्सिर ४ का लागि घोषणा भएको प्रदेश र प्रतिनिधि सभा सदस्य चुनाव आउन तीन महिना भन्दा पनि कम समय बाँकी रहँदा चुनावी सरगर्मी सुरु भईसकेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनले मिलेर चुनाव लड्ने निर्णय गरेका छन् भने प्रतिपक्षी एमाले तालमेलका लागि सारथी खोजिरहेको छ । स्थानीय चुनावमा युवाहरूको उत्साहजनक उपस्थिति देखिएपछि, उमेर ढल्किसकेका नेताहरू यसपालीको चुनावमा दबाबमा देखिएका छन् । आउँदो चुनावका लागि गठबन्धन गर्ने निर्णय गरेका काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता निर्वाचन क्षेत्र जुध्ने झमेलाबाट परै देखिए पनि उनिहरूलाई दोस्रो र तेस्रो पुस्ताका नेता व्यवस्थापनमा भने सकस देखिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा परम्परागत निर्वाचन क्षेत्र डडेलधुराबाटै उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । कतिपयले देउवा यसपटक कञ्चनपुरबाट उठ्ने चर्चा पनि चलाएका छन् । तर गठबन्धन कायमै हुँदा वा नहुँदा पनि देउवाका लागि सबैभन्दा सुरक्षित क्षेत्र डडेल्धुरा मानिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुरानै निर्वाचन क्षेत्र झापा ५ बाटै चुनाव लड्दै हुनुहुन्छ । स्थानीय चुनाबमा दमक नगरपालिकामा पराजय ब्यहोरे पनि अरु पालिकामा आएको मतले ओलीका लागि यो क्षेत्र नै सुरक्षित देखिन्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि चितवन ३ बाट पुनः चुनाव लड्ने तयारीमा हुनुहुन्छ । पछिल्लो स्थानीय तह निर्वाचनलेसो क्षेत्रमा माओवादी केन्द्रको मत बढेको देखाएको छ । सत्ता गठबन्धनको तेस्रो घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यसपटक काठमाडौँ २ छाडेर रौतहट फर्किने तयारीमा हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here