काठमाडाैं ।। पार्टी एकताको गृहकार्य गरिरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मङ्सिर ४ मा हुने निर्वाचनमा एउटै घोषणापत्र बनाउने भएका छन् । आज विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भएको छलफलमा दुई पार्टी एउटै घोषणापत्र लिएर निर्वाचनमा जान सहमत भएका हुन् । पार्टी एकताको पहल गरिरहेका दुई पार्टीबीच एकता भने निर्वाचनपछि मात्रै हुने भएको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एउटै घोषणापत्र लिएर चुनावमा जाने सहमति जुटेको प्रतिक्रिया दिनुभयो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने चुनावअघि पार्टी एकता नहुने तर अरु विषय मिलाउँदै जान सहमत भएको प्रतिक्रिया दिनुभयो ।





