नुवाकोट ।। नुवाकोटमा त्रिशुली गङ्गा जलविद्युत आयोजना निर्माण सुरु भएको छ । पर्फेक्ट इनर्जी डेभलपमेन्टले क्षमता घटाएर बहुप्रतिक्षित आयोजना विदुर नगरपालिका–७ तुप्चेमा निर्माण सुरु गरेको हो । आयोजना निर्माणको अनुमति पाएको लामो समय भए पनि उत्तरगया धामका रुपमा प्रसिद्ध बेत्रावती धार्मिक क्षेत्रमा त्रिशूली नदीको बहाव सुक्ने भन्दै अदालतमा मुद्दा परेपछि आयोजना निर्माण सुरु भएको थिएन । अदालतले स्थानीयको माग अनुसार नै बेत्रावती धार्मिक क्षेत्रमा पानीको बहाव नरोकिनेगरि बेत्रावतीमाथि पानी झर्नेगरि निर्माण गर्न आदेश दिएपछि २२ मेगावाट क्षमताको अनुमति पाए पनि क्षमता घटाएर १५ दशमलव ६५ मेगावाटको निर्माण गर्नेगरि काम अघि बढेको हो । किस्पाङ गाउँपालिका–५ को पैरेवेसी सिरुपानीमा थ्री बी बाट झरेको पानीलाई मध्य त्रिशूली गङ्गाको लागि ल्याइने निर्माण पक्षले जनाएको छ । पाँच अर्व रुपैयाँ लागत रहेको सो आयोजना बाँधस्थलबाट उत्पादनगृहसम्म दुई हजार दुई सय मिटरको रहेको छ । पैरेवेसीको सिरुपानी नयाँपुलदेखि जयडाँडासम्म एक हजार एक सय मिटर सुरुङमार्ग र जयडाँडादेखि तुप्चेस्थित विद्यृतगृहसम्म एक हजार एक सय मिटर पाइपमार्फत पानी ल्याइने पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिका अध्यक्ष भरत खड्काले जानकारी दिनुभयो । हिउँद बर्खामै १५ दशमलव ६५ मेगावाट विद्युत उत्पादन हुने आयोजना आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने निर्माण पक्षले जनाएको छ ।





