काठमाडाैं ।। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा स्थानीय चुनाबको समीक्षा भएको छ । प्रदेशका सभापतिहरू गठबन्धनका कारण निर्वाचन परिणाम राम्रो आएको भएपनि गठबन्धन भित्रका अन्य दलहरूले भोट हाल्नमा पूर्ण इमान्दारीता भने नदेखाएको रिर्पोटिङ बैठकमा गरेका छन् । बैठकमा प्रदेश नम्बर एकका सभापति उद्दव थापाले स्थानीय निर्वाचनमा काँग्रेसको अवस्था सुधार भएको तर कतिपय ठाउँमा आन्तरिक समस्याले अपेक्षाकृत सफलता प्राप्त हुन नसकेको बताउनुभयो । उहाँले गठबन्धन भित्रका सबै दल तथा कार्यकता इमान्दार भएको भए काँग्रेसले अझै सिट बढाउन सक्ने भएपनि इमान्दारीता नदेखिएको बताउनुभएको थियो । मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरूले घात गरेको रिर्पोटिङ गर्नुभयो । चुनावी समीक्षा गर्दै उहाँले मधेश प्रदेशमा गठबन्धनका दलहरूले धोका दिएको टिप्पणी गर्नुभयो । त्यस्तै वाग्मती प्रदेशका सभापति इन्द्र बानियाले गठबन्धनले सफलता पाएको र काँग्रेसको स्थिति सुधार भएको रिपोर्टिङ गर्नुभयो । तर पनि दलबाहिरको गठबन्धनलाई जोड दिएर पार्टी भित्रको एकता खलबलाउन नहुनेमा उहाँको जोड रहेको थियो । पार्टी भित्रको एकता खलबलाएर अन्य दलसँग गठबन्धन गर्ने हो भने त्यसले काँग्रेसको हित नगर्ने र गठबन्धनले सोचे अनुसारकै परिणाम पनि दिन नसकेको उहाँको भनाइ रहेको थियो । यसअघि निर्वाचन परिचालन समितिका संयोजक उपसभापति पूर्णबहादुर खड्का र प्रचार समितिका संयोजक प्रकाशशरण महतले प्रतिवेदन पेस गरेका थिए । बैठकमा चुनावी समीक्षा, भातृसंस्थाका विधान र पूर्णता, सरकारको समीक्षा, पाँचदलीय गठबन्धन लगायतका विषयमा छलफल भइहरेको छ ।





