काठमाडाैं ।। पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाको संक्रमण देखिएको छ। योसँगै मानिसहरुमा यसले चिन्ता बढाएको छ। विभिन्न कारणले समयमै यहाँको फोहोर नउठिरहँदा हैजा देखिनुलाई गम्भीर रुपमा लिनुपर्ने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन्।
हैजा भिब्रिओ कोलेरा नामक ब्याक्टेरियाको कारण लाग्ने रोग हो। विशेषगरी यो जीवाणु फोहोर पानीबाट मानिसमा सर्छ। हैजा लागेका अधिकांश मानिसमा ठूलो लक्षण देखिँदैन। यद्यपि केही मानिसमा गम्भीर किसिमको पखाला, बान्ता र पानीको मात्रामा कम हुने समस्या देखिन्छ।
हैजाको जीवाणु मानिसको शरीरमा प्रवेश गरेपछि उक्त जीवाणु विकसित हुन १ देखि २ दिन लाग्छ। गम्भीर अवस्थामा पुगेका मानिसको समयमा नै उपचार हुन सकेन भने केही घण्टाभित्रै पनि ज्यान जान सक्छ। गम्भीर लक्षण देखापरेपछि पनि उपचार नपाए ४ देखि २४ घण्टाभित्र बिरामीको मृत्यु हुन सक्छ।
हैजा लाग्नुअघि पूर्णरुपले स्वस्थ मानिस पनि गम्भीर लक्षण देखिँदा उपचार पाउन नसके मृत्युको मुखमा पर्न सक्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार हैजाको कारण विश्वभर २१ हजारदेखि १ लाख ४३ हजारसम्म मानिसहरुको मृत्यु हुने गरेको छ।
के के हुन् हैजाका लक्षणहरु?
हैजाको संक्रमण भए पनि धेरै मानिसमा लक्षण देखिँदैन वा सामान्य लक्षण देखिन्छ। हैजा संक्रमितमध्ये करिब १० प्रतिशत मानिसमा हैजाको गम्भीर लक्षण मात्र देखिन्छ।
– हैजा लागेको मानिसमा निम्न लक्षण देखिन सक्छ –
– पखाला लाग्ने
– वाकवाकी लाग्ने
– बान्ता हुने
– शरीरमा पानीको मात्रा कम हुने
– थकाइ लाग्ने
– आँखा रातो हुनु
– मुख सुख्खा हुनु
– अत्यधिक तिर्खा लाग्नु
– पिसाब कम लाग्नु
– मुटुको गति असामान्य हुनु
– रक्तचाप कम हुनु
के कारणले लाग्नसक्छ हैजा?
विशेषगरी फोहोर पानीकै कारण हैजा संक्रमण हुन्छ। यो अधिकांश मानिसमा हैजा संक्रमण हुने कारण हो। त्यसैले हैजा संक्रमण सफा पानी र सरसफाइको अभाव भएको स्थानमा फैलिन्छ। त्यस्तै राम्रोसँग नपाकेको खानेकुरा, काँचै खाने फलफूल र तरकारी राम्रोसँग नपकाई खाँदा सर्न सक्छ। बिरामीसँगको सामान्य सम्पर्कबाट यो रोग सर्दैन।
कसरी बच्ने?
हैजा संक्रमण आफू बस्ने स्थाननजिकै फैलिएको छ भने निम्न कुरामा ध्यान दिनुपर्छ –
– बेलाबेलामा हात धुने
– खाना बनाउन, दाँत माझ्न वा पिउनको लागि उमालेको पानी प्रयोग गर्ने
– उमाल्न सम्भव नभए पानी शुद्धीकरण गर्ने रसायन पनि प्रयोग गर्न सकिन्छ तर, पानी शुद्ध बनाउने सबैभन्दा उत्तम उपाय उमाल्नु नै हो।
– दुग्ध उत्पादन नखाने
– काँचो खानेकुरा नखाने
– घरमा नै उमारेको तरकारी वा फलफूल मात्र खाने बानी विकास गर्ने
त्यस्तै हैजाको लक्षण देखिनेबित्तिकै डाक्टरलाई देखाउनुपर्छ। घरमा कसैलाई हैजाको लक्षण देखिए विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here