रौतहट ।। लगातारको पानी परे पछि वाग्मती नदीमा आएको बाढीले धार परिवर्तन गरी रौतहटको माधवनारायण र राजदेवी नगरपालिका क्षेत्रमा कटान सुरु गरेको छ । कटानको रफ्तार बढ्न थालेपछि आसपासका बस्ती जोखिममा परेका छन् । स्थानीय प्रशासनले कटान रोक्न बुधबार बिहान सरोकारवालासँग आपत्कालीन बैठक बोलाएको छ ।
वाग्मती नदीमा स्थानीय तहले जथाभावी उत्खनन गरेपछि नदीले धार परिवर्तन गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । यसकै परिणाम धमाधम कटान हुन थालेको प्रजिअ शाहीले उल्लेख गरे । ‘चुरे क्षेत्रमा पानी पर्ने क्रम जारी छ । वाग्मतीमा बाढी भीषण छ । स्थानीय तहले जथाभावी नदी खनेपछि धार परिवर्तन गरेर रौतहट क्षेत्रमा व्यापक कटान सुरु गरेको छ,’ उनले भने, ‘समयमा उत्खनन गर्दा हेक्का नराख्दा परिणाम गम्भीर हुने देखिएको छ । अब कटान नियन्त्रण गर्नेतर्फ छलफल हुँदै छ ।’
वाग्मतीको पश्चिमी क्षेत्रमा भारत सरकारले ड्याम बनाए पनि बाढीको गति तीव्र भएकाले ड्यामलाई समेत असर पुग्ने छाँट देखिएको प्रजिअ शाहीले सुनाए । लगातारको वर्षापछि अहिले वाग्मतीमा पानीको सतह बढेको छ । अहिले राजदेवी र माधवनारायण नगरपालिका क्षेत्रमा वाग्मतीले कटान गरिरहेको छ ।
प्रजिअ शाही जनप्रतिनिधिहरूसहित सुरक्षा अधिकारीहरूको टोलीले मंगलबार वाग्मति र लालबकैयामा कटान हुने क्षेत्रको स्थलगत हेरेका थिए ।स्थानीय तहले उत्खनन गरेकाले सर्लाही हुँदै बग्ने नदीले धार परिवर्तन गरी रौतहटतर्फ कटान सुरु गरेको भन्दै प्रजिअ शाहीले आक्रोश व्यक्त गरेका छन् ।
गत वर्ष वाग्मती र लालबकैया नदीछेउको स्परलगायत जमिन कटानमा परेपछि वरपरका बस्ति जोखिममा परेका थिए । यस वर्ष पनि यस्तै समस्या हुने प्रजिअ शाहीले सुनाए । वाग्मती र लालबकैयाको पानी सदरमुकाम गौरसहित नदी आसपासका ब्रह्मपुरी, बेलबिछुवा, मुडवलवा, लक्ष्मिपुर, बसतपुर, भषेढवा, पिप्रालगायत दर्जन गाउँमा पस्ने स्थानीयमा त्रास बढेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here