काठमाडौं ।। अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा आफूमाथि उठेका प्रश्नका कारण राजीनामा नदिने बताएका छन् । आजको राष्ट्रियसभा बैठकमा उनले आफूले राजीनामा नदिने तथा सही र गलतको पुष्टि इतिहासले गर्ने बताए ।
“बजेट जनताको पक्षमा ल्याएका कारणले, बजेट देशको पक्षमा ल्याएका कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यही गनुपर्छ भन्ने कुरा होइन । सही र गलत इतिहासले पुष्टि गर्ने छ,” उनले भने । त्यसैगरी करको दर घटबढ गर्ने कुरा अर्थमन्त्रीको क्षेत्राधिकार भएको पनि उनले बताए ।
“के अर्थमन्त्रीले बजेट नल्याएर । करको दर घटबढ नगरेर के गर्नुपर्थ्यो ? अर्थमन्त्रीको क्षेत्राधिकारको कुरा हो । अधिकारको कुरा हो,” उनले भने । सरकारले ल्याएको नीति कार्यक्रमले समृद्धिको बाटोमा रहेको उनको दाबी छ ।





