जनकपुर ।। रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल आज जनकपुर आउँदै छ । भारतीय पर्यटकहरू सवार ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको उक्त रेल आज दिउँसो १ बजेतिर जनकपुर स्टेसनमा आइपुग्ने बताइएको छ । जनकपुर रेलवे स्टेसनमा उनीहरूलाई स्वागत गरिने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिनुभयो । उनीहरूको सुरक्षाका लागि जनकपुरमा विशेष प्रवन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । रेलमा करिब ५ सय पर्यटक रहने र उनीहरू एक रात जनकपुरमै बास बस्ने पौडेलले बताउनुभयो । भारतीय पर्यटकहरूलाई जनकपुर भ्रमण गराउन मधेश प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन मन्त्रालयले समन्वय गरेको छ । रेलको सबै १४ डिब्बामा भारतीय लोककला, संस्कृति, परम्परा, सम्पदाल झल्काउने तस्वीर राखिएको छ ।





