काठमाडाैं ।। प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन् ।
उनले आइतवार नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिकरूपमा जानकारी गराउने इच्छा व्यक्त गरेका हुन् ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहेका सचेतक भुसालले आइतवार उनीसँग भेट गरेकी थिइन् ।
समितिको यसअघिको बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुंगो लागिनसकेको स्पष्ट पारेका थिए ।
समितिले नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा छलफल गर्न आज बैठक बोलाएको थियो । प्रधानमन्त्री देउवा आफ्नो कार्यव्यस्तताका कारण बैठकमा उपस्थित हुन नसकेको बताइएको छ ।
बैठकमा अनुपस्थित भएकोमा प्रधानमन्त्री देउवासँग स्पष्टीकरण सोध्ने संसदीय समितिले निर्णय गरेको छ ।





