काठमाडौं ।। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पुगेका दुई जनामा हैजाको जिवाणु देखिएपछि काठमाडौंमा रोग फैलने त्रास बढेको छ । गर्मी र वर्षात्को समयमा हैजाको जोखिम अझ बढी हुन्छ । तर खानपानमा ध्यान दिए सामान्य सजगताबाटै जोगिन सकिने चिकित्सकहरु बताउँछन् । हैजाको मुख्य कारण हो जथाभावी फालिने फोहोर र प्रदुषित पानी । काठमाडौंमा देखिएको हैजा यसैको उपज हो । मनसुन सकृय बन्दै जाँदा आउने बाढीले पानीका श्रोतहरु प्रदुषित बन्छन् र हैजाको जोखिम पनि बढ्छ । बाढीको प्रभाव तराईमा अझ बढी हुने भएकाले वर्षायाममा स्वच्छ खानेपानीको सङ्कट हुने गर्छ । तर सर्वसाधरणलाई पानीको स्वच्छताबारे त्यती चासो छैन । गतवर्ष कपिलबस्तुका विभिन्न स्थानमा हैजाबाट ६ जनाको मृत्यु भयो । १३ सय जना भन्दा बढी विरामी परे । सुरुमा झाडापखला र बान्ताका छिटपुट बिरामी देखिएपनि समयमै सजग नबन्दा नियन्त्रणका लागि खोप अभियान नै चलाउनुप¥यो । मुख्यतः फोहोर पानीबाट हैजा फैलने भएकाले यसवर्ष पनि मनसुन सुरु भएपछि यसको जोखिम बढेको विशेषज्ञ डा. भोजराज अधिकारी बताउनुहुन्छ । सुरुमा सामान्य झाडापखाला जस्तै लक्षण देखिएपनि तारन्तार पातलो दिसा हुनु र पानी जस्तै बान्ता हुनु हैजाको लक्षण हो । यसले शरीरमा पानीको मात्रा कम गराउँछ र मांशपेशी बाउँडिन थाल्छ । गर्मी र वर्षात्को समयमा पानीको स्रोतमा हैजाको जीवाणु मिसिन पुग्यो भने दूषित पानी र त्यस्तो पानी प्रयोग भएको खानेकुराले मानिसमा यो रोगको सङ्क्रमण हुनसक्छ । त्यसैले सबैभन्दा बढी पानी र खाद्यान्नमा सचेत हुनुपर्ने बताउहुन्छ, सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन । विश्व स्वास्थ्य सङ्गठनको एक अध्ययनअनुसार विश्वभर हरेक वर्ष १३ देखि ४० लाख मानिसमा हैजा देखिने गरेको छ । जसमध्य २१ हजारदेखि एक लाख ४३ हजारसम्मको मृत्यु हुन्छ । समयमै उपचार नपाउँदा केही घण्टामै ज्यान जानसक्ने हैजा जस्तो सरुवा रोगबाट सामान्य सजगता अपनाए पनि बँच्न सकिने चिकित्सकहरु बताउँछन् ।
दुई जनामा हैजाको जिवाणु देखिएपछि काठमाडौंमा रोग फैलने त्रास
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।