काठमाडौँ ।। प्राकृतिक विपद्का घटनामध्ये पहिरोका कारण हुने जनधनको क्षति बढेको सरकारी तथ्याङ्कले देखाएको छ । पछिल्लो ११ वर्षमा मनसुनमा मात्रै दुई हजार चार सय ६५ वटा पहिरोका घटनाहुँदा एक हजार तीन सय ८७ जनाको मृत्यु भएको छ भने तीन सय ३० जनाको अवस्था अझै थाहा हुन सकेको छैन । बाढी र डुबानको घटनामा कमि आए पनि पहिरोको घटना बढेका छन् । गृह मन्त्रालयका अनुसार गत शुक्रबार यता मात्रै पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ भने यही अवधिमा आठ परिवार घर छोड्न बाध्य भएका छन् । गएको ११ वर्षको अवधिमा मनसुनमा मात्रै पहिरोका दुई हजार चार सय ६५ वटा घटना भएको गृह मन्त्रालय अन्तर्गतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोईरालाले बताउनुभयो । स्थानीय तहले बढी प्राथमिकता दिएका कारण पनि अहिले गाउँगाउँमा सडक पुगे पनि भौगोलिक अध्ययन भने फितलो देखिन्छ । वातावरणीय प्रभाव मूल्याङ्कनबिना सडक खन्दा पहिरोसँगै दुर्घटना बढिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिभिल इन्जिनियर केशवकुमार शर्माले बताउनुभयो । जथाभावी सडक खन्दा पहिरोको जोखिम बढेको सरकारी अधिकारीहरू नै स्वीर्काछन् । तर यसलाई रोक्न नीतिगत निर्णय भने हुन सकेको छैन । पूर्वाधार विज्ञ किशोर थापाले जथाभावी सडक खन्ने प्रवृत्ति तत्काल रोक्नुपर्ने बताउनुभयो । अव्यवस्थित सहरीकरण, जथाभावी सडक निर्माण, अवैज्ञानिक भू–उपयोग, रोडा, बालुवा, ढुङ्गालगायतका प्राकृतिक स्रोतको अनियन्त्रित दोहनकै कारणले पहाडी भू–भागमा पहिरोका घटना बढ्दो छ । त्यसलाई कम गर्न संरचना निर्माणमा दक्ष प्राविधिक संलग्नता आवश्यक हुने विज्ञहरू बताउँछन् ।
प्राकृतिक स्रोतको अनियन्त्रित दोहनकै कारणले पहाडी भू–भागमा पहिरोका घटना बढदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।