काठमाडौं ।। राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार नेपालको विदेशी मुद्रा सञ्चिति पछिल्लो २ वर्षदेखि निरन्तर घट्दै गएको छ । जसका कारण अब नेपालसँग ६ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्चित हुँदा त्यसले समस्या उत्पन्न हुन सक्ने जानकारहरूले बताएका छन् । ४ दिन अघि राष्ट्र बैङ्कले सार्वजनिक गरेको वैशाख महिनाको आर्थिक प्रतिवेदनमा विदेशी मुद्रा भण्डारण चैतको तुलनामा २१ अर्बले घटेको देखिन्छ । चैतमा नेपालको विदेशी मुद्रा भण्डारण ११ खर्ब ६७ अर्ब ९२ करोड थियो तर वैशाखमा घटेर ११ खर्ब ४६ अर्ब ८८ करोड पुगेको छ । नेपालको अहिले १८ खर्बको हाराहारीमा वैदेशिक ऋण छ भने सरकारले उपभोग्यवस्तुको आयातलाई निरुत्साहित गर्ने रणनीति लिएको छ । तर, अझैँ १२ खर्बभन्दा बढीको वस्तु वार्षिक भित्रिन्छ । विदेशी मुद्रा सञ्चिति घट्दा बाहिरबाट आयात हुने सबै वस्तुहरू खरिद गर्न नसक्ने अवस्थामा मुलुक पुग्न सक्छ । त्यसकारण सरकारले समयमै ध्यान दिनुपर्ने नेपाल राष्ट्र बैँकका पूर्व गर्भनर डा.चिरञ्जिवि नेपालले बताउनुभयो । कोरोना महामारी, रुस–युक्रेनबीचको युद्ध लगायत कारणले पनि सरकारसँग अब ६ महिनालाई मात्रै पुग्ने विदेशी मुद्रा छ । विदेशी मुद्राको सञ्चिति घट्दा बाहिरी मुलुकबाट वस्तु आयात गर्न समस्या हुन्छ भने त्यसको प्रभाव सर्वसाधारण नागरिकमा धेरै पर्छ । नेपाल राष्ट्र बैँकका सह प्रवक्ता नारायण प्रसाद पोखरेलले विदेशी मुद्रा सञ्चितिमा कमी आए पनि सरकारले लिएको रणनीति अनुसार काम भइरहेको बताउनुभयो । उहाँले नेपालसँग अहिले भएको विदेशी मुद्रा सञ्चितिका कारण अन्तर्राष्ट्रिय स्तरमा खराब छवि नबनेको र सरकारले आफ्नो विदेशी मुद्रा सञ्चिति बढाउनका लागि निर्यात बढाउने, विप्रेशन बढाउने लगायतका विषयमा काम गरीरहेको हुँदा समस्या नहुने बताउनुभयो । नेपालमै उत्पादन हुने वस्तुका लागि कच्चा पदार्थ, खाद्यान्न, इन्धन लगायत वस्तु आयात गर्न नसकेपछि अर्थतन्त्रमा देखिएको नकारात्मक प्रभाव सुधार हुन सकेको छैन । त्यसलाई सुधार्न सरोकारवाला र उपभोक्ता स्वयंले पनि विषेश ध्यान दिनुपर्ने अर्थ क्षेत्रका जानकार बताउँछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here