काठमाडाैं ।। राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताउनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले प्रकृतिको स्वभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको बताउनुभयो । राष्ट्रपति कार्यालयबाट जारी शुभकामना सन्देशमा ‘हामीसँग पृथ्वीजस्तो सजीव ग्रह एउटै मात्र भएकाले प्रकृतिका अन्य अवयवहरूको संरक्षण गर्दै सबैखाले प्राकृतिक स्रोतको दिगो उपभोगका लागि जीवनशैलीमा परिवर्तन ल्याई स्वच्छ र हरित मानवीय जीवन पद्दतिको विकास गर्ने कुरा आज प्रमुख चुनौतीको रूपमा रहेको’ भनिएको छ ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदुषणले पृथ्वीको तापक्रम बढेर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको बताउनुभएको छ । दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपद्बाट जनधनको क्षतिजस्ता गम्भीर र नकारात्मक असर एवं प्रभाव बढेको बताउनुभयो । यसले समग्र विश्व नै ठूलो वातावरणीय सङ्कटबाट गुज्रिरहेको बताउँदै प्रधानमन्त्री देउवाले यसको असरबाट नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील देश र गरिब तथा सीमान्तकृत समुदाय बढी मात्रामा प्रभावित भइरहेको उल्लेख गर्नुभयो ।
वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादवले जलवायु परिवर्तनका असरहरूलाई न्यूनिकरण गर्न वातावरणको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभएको छ । दिवसको अवसरमा शुभकामना दिँदै उहाँले वातावरणीय प्रदूषण, फोहोरमैलाको उचित व्यवस्थापन, जैविक विविधताको संरक्षणका लागि सरकार लागि परेको उल्लेख गर्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here