सांकेतिक तस्विर

काठमाडौं ।। पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल घटाउन सांसदहरूले सरकारसँग माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन सरकारसँग माग गर्दै प्रतिनिधिसभा बैठकमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा भाग लिँदै सांसदहरूले पेट्रोलियम पदार्थको मूल्यबृद्धिका कारण नागरिकहरू समस्यामा परेकाले तत्काल यसको समाधान खोज्न माग गरे । सत्तारुढ नेपाली काँग्रेसका सचेतक पुष्पा भुसालले गरिब जनता मूल्य वृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । सचेतक भुसालले रुस – युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्य वृद्धिको मारमा पर्नु परेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत, सौर्य ऊर्जा लगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । आयातित वस्तुहरूको प्रतिस्थापन नगरी मूल्य वृद्धिको समस्या हल गर्न नसकिने भएकाले सरकारले यस दिशामा पनि आफूलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ रहेको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा गठित मूल्यवृद्धि अध्ययन समितिले छिटो भन्दा काम गर्नुपर्नेमा र यसको प्रतिवेदनको आधारमा मूल्यबृद्धि घट्नुपर्नेमा उहाँको जोड रहेको थियो । यस्तै, छलफलमा भाग लिंदै नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले सरकारले पेट्रोलियम पदार्थमा घटाएको १० रुपैयाँ अपुग भएको भन्दै समग्र मूल्यवृद्धि फिर्ता हुनुपर्ने बताउनुभयो । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयमा भ्रष्टाचारको गन्ध आएको भन्दै त्यसको छानविन गर्नुपर्ने माग समेत उहाँले गर्नुभयो । सरकार आफैंले बनाएको कार्यविधि विपरीत हप्तामा दुई पटक जेठ १ गते र ९ गते मूल्यवृद्धि गरिएको भन्दै त्यो अवैधानिक भएकाउहाँको भनाइ रहेको थियो । मूल्यवृद्धिको निर्णय हुन लागेको सूचना चुहाएर सरकार निकट व्यक्तिहरूकोमा ग्यास र पेट्रोलियम पदार्थ पु¥याइएको उहाँले दाबी थियो । यसैगरी एमालेका सांसद गणेश कुमार पहाडी र कृष्णभक्त पोखरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गरी जनजीविकाको समस्या समाधान गर्न अधिकार सम्पन्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राख्नुभयो । अर्थतन्त्रका प्रमुख परिसूचकहरू प्रति सरकारले एथेष्ट ध्यान पु¥याउन नसक्दा जनताको जनजीविकासँग जोडिएको खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुहरुको मूल्य वृद्धि भएको भन्दै त्यसलाई नियन्त्रणको माग गर्दै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावमा यज्ञराज सुनुवार, गणेश कुमार पहाडी र राजेन्द्र प्रसाद लिङ्देनले समर्थन गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here