काठमाडाैं ।। निर्वाचन आयोगले आजसम्ममा सबै जिल्लामा मतपत्र पठाउने भएको छ । आउँदो शुक्रबारका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाईको काम हिजै सकिएको र आज बेलुकीसम्ममा पठाउने तयारी भएको निर्वाचन आयोगले जनाएको छ । आयोग प्रवक्ता शालीग्राम शर्मा पौडेलले आज बेलुकीसम्ममा सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने बताउनुभयो । मधेस प्रदेशका ८ जिल्ला बाहेक अरु जिल्लामा यसअघि नै मतपत्र ढुवानी भइसकेको आयोगले बताएको छ । ४३ पालिकामा पुनः मतपत्र छाप्नु परेकाले यसअघिको लक्ष्यभन्दा धेरै छपाइ भएको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो । पुनः १३ लाख चार हजार मतपत्र छापिएको हो । आयोगले ६ महानगर र भक्तपुरका लागि आवश्यक मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि छपाइ थालेको थियो । पालिका चुनावका लागि कुल मतदाता एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना रहेका छन् ।





