काठमाडाैं ।। रुसले युक्रेनको मारियोपोलमा युद्ध विरामको घोषणा गरेको छ । नागिरकलाई युद्ध क्षेत्रबाट बाहिर निकाल्नका लागि रुसले युद्ध विरामको घोषणा गरेको हो । युक्रेनका उपप्रधानमन्त्री इरिना वेरेशचुकले रुसको यो निर्णयको अन्तर्राष्ट्रियस्तरमा सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । यसअघि पनि रुसले युद्ध विरामको घोषणा गरेको तर, कार्यान्वयन नगरेको भन्दै उहाँले नागरिकलाई युद्ध क्षेत्रबाट निकाल्ने विषयको सुनिश्चितता हुनुपर्ने उल्लेख गर्नुभयो । रुसले पछिल्लो समय युक्रेनको खारकिभ, पूर्वी डोनबास, पश्चिमी सूबे लविव लगायतका क्षेत्रमा आक्रमण तीव्र बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।
यसैबीच, अमेरिकाले युद्धमा सहयोग गर्नका लागि युक्रेनलाई ७० करोड डलरभन्दा बढीको सैन्य सहयोग गर्ने बताएको छ । हिजो अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कन र रक्षा मन्त्री लयड अस्टिनले युक्रेन भ्रमणको क्रममा अमेरिकाले युक्रेनलाई जारी युद्धमा ७३ दशमलव ३ करोड डलरको सैन्य सहयोग उपलब्ध गराउने बताउनुभयो । त्यसबाहेक अमेरिकाले १६ दशमलव ५ करोड डलरको हतियार र विस्फोटक पदार्थ पनि युक्रेनलाई उपलब्ध गराउने भएको छ ।





