दाङ ।। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ८ को स्यानी गाउँमा सुर्यमुखी फूलको खेती फस्टाएको छ । फूल खेतीकै कारण स्यानी गाउँ चर्चामा आएको छ भने आन्तरिक पर्यटक पनि बढिरहेका छन् । दाङमा यसअघि सुर्यमुखी फूलको व्यावसायिक खेती भएको थिएन । स्यानी गाउँका ५४ वर्षका यमबहादुर चौधरी र उहाँका श्रीमती शोभा चौधरीले गरेको सुर्यमुखी फूलको खेतीले गाउँ चिनाउने आधार बन्न थालेको हो । घोराही १० नारायनपुरबाट दक्षिणतर्फ लागेपछि पुगिने वडा नम्बर ८ को स्यानी गाउँ सुर्यमुखी फूलका कारण टाढैबाट चिनिने गरेको छ । एकनासले फूलेका फूलको सौन्दर्य हेर्न, फोटो खिच्न र टिकटक बनाउन पुग्नेहरूका लागि एक जनालाई ५० रूपैया शूल्क पनि तोकिएको छ । फूलखेती हेर्न दैनिक झण्डै ५ सय मानिसहरू पुग्ने गरेका छन् । जसबाट फूलखेती गर्दै आउनुभएका चौधरी दम्पतीले दैनिक १६ हजार सम्म कमाउन थाल्नुभएको छ । फूलखेतीमा मानिसहरूको आकर्षण बढेपछि यसलाई थप व्यवस्थित बनाउने सोँच उनीहरूले बनाएका छन् । ७ महिना अघि ७ हजार रुपैँयाँ लगानी गरि ७ कठ्ठामा लगाईएको यो फूलबाट लगभग साँढे ३ क्वीन्टल दाना उत्पादन हुने अपेक्षा गरिएको छ । यसरी तेलको लागि गरिएको फूल खेतीबाट गाउँ नै चिनिने मौका आउँदा यमबहादुर चौधरी र शोभा चौधरी खुसी हुनुभएको छ ।
दाङको स्यानी गाउँमा सुर्यमुखी फूलको खेती फस्टाउँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।