काठमाडौँ ।। मुख स्वास्थ्यमा विशेष ध्यान दिँदा ९० प्रतिशत रोग नलाग्ने दन्त चिकित्सकहरूले बताएका छन् । मुख स्वास्थ्यमा ध्यान नदिँदा गिँजाको समस्या, मुखमा घाउ हुने, बिबिरा आउने, मुखको क्यान्सर हुने लगायतका समस्या हुने डा.सुभाष घिमिरेले बताउनुभयो । मुख स्वास्थ्यको विशेष ख्याल गर्न खानपिनमा नियन्त्रण गर्नुपर्ने, प्याकेटका खानेकुरा कम खाने, गुलियो चिनिजन्य खानपान खान नहुने डा. घिमीरेको सुझाव छ । तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालका ९० प्रतिशतभन्दा बढी मानिसलाई मुख स्वास्थ्यको बारेमा जानकारी नै छैन । पछिल्लो समय भने नीजि अस्पतालहरूको स्थापना बढेसँगै धेरै स्वास्थ्य सेवासुविधामा नागरिकको पहुँच बढ्दै गएको छ । नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकको सङ्ख्या ४ हजार ८१ छ भने विशेषज्ञ चिकित्सकको सङ्ख्या ६ सयभन्दा धेरै छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै दन्त चिकित्सक भएपनि सेवा भने गाउँसम्म पुग्न सकेको छैन । स्वास्थ्य संस्था सहर केन्द्रीत भएका कारण गाउँघरका सबै नागरिकले लाभ लिन पाएका छैनन् । नेपालले मुख स्वास्थ्य निर्देशिका २०७१ जारी गरेको छ । तर, निर्देशिका अनुसार भने काम अघि बढ्न सकेको छैन ।





