एजेन्सी ।। युक्रेन र रुसबीच प्राविधिक विराम गर्ने सहमति भएको छ । युक्रेनमा जारी युद्ध अन्त्यको विषयमा हिजो दुई देशबीच भएको तेस्रो चरणको वार्तामा आजसम्मका लागि प्राविधिक विराम गरिएको छ । प्राविधिक विरामको बेला रुसी सेनाको गस्तीलाई फिर्ता गर्न समय दिइने छ भने युक्रेनका लागि सुरक्षा सुनिश्चितता बनाउने काम हुनेछ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्किीका सल्लाहकार मिखाइलो पोदोलेकका अनुसार प्राविधिक विरामपछि आज पुनः वार्ता हुनेछ । यसैबीच, युक्रेनले जारी युद्धको क्रममा हालसम्म ९० जना बालबालिकाको मृत्यु भएको र सयभन्दा बढी बालबालिका घाइते भएको बताएको छ । यस्तै, संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रसले नागरिकहरूमा युद्धको प्रभाव डरलाग्दो सतहमा पुगेको बताउनुभएको छ । उहाँले शान्तीका साथ जीवन बिताइरहेका नागरिकमा युद्धका कारण घरबार गुमाउनुपरेको तथा आधारभूत आवश्यकताको अभाव झेल्न थालेको बताउनुभयो । गुटेर्रसले युद्ध प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनका लागि राष्ट्र सङ्घको आपतकालीन सहयोग समितिले ४० मिलियन डलर सहयोग गर्ने र त्यसबाट खानेपानी, खाद्यान्न, औषधि र अन्य आवश्यकतालाई परिपुर्ति गरिने पनि बताउनुभयो ।





