काठमाडाैं ।। पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिको हिजोको बैठकले गएराति १२ बजेदेखि नै लागू हुने गरि पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो । यो सँगै पेट्रोल लिटरको १५० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेल लिटरको १३३ रुपैयाँ कायम भएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै निगमले एकै पटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा भइरहे पनि मूल्य नबढाउने निर्णय गरेको जनाएको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ । यो मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने सह–प्रवक्ता पुष्कर कार्कीले बताउनुभयो । फागुनसम्म मात्रै निगमलाई २८ अर्ब नोक्सानी हुने देखिएको उहाँको भनाइ छ । निगम सञ्चालक समितिले आर्थिक संकट गहिरिएको भन्दै कर्मचारीलाई दिँदै आएको पोसाक संरक्षण खर्च कटौती गर्ने निर्णय पनि गरेको छ । रुस–युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा हिजो कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै घाटा पनि उकालो लागेको निगमले जनाएको छ । निगमले पेट्रोलियम पदार्थ खरिदबापत भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने रकम अपुग भएको भन्दै सरकारसँग सहयोग मागेको छ । यस्तै‚ निगमले बिक्रेता कमिसन पनि हाललाई स्थगित गर्ने निर्णय गरेको छ । यसबाट पेट्रोलियम पदार्थको मूल्य बढे पनि बिक्रेताले कमिसन बापतको अतिरिक्त मूल्य पाउने छैनन् । यही फागुन ७ गतेको मूल्यमा आधारित कमिसन मात्र बिक्रेताले प्राप्त गर्ने निगमले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here