काठमाडाैं ।। नेपालले, संयुक्त राष्ट्रसंघको महासभामा रुसविरुद्ध मतदान गरेको छ । युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्नेसम्बन्धी पक्ष र विपक्षमा भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो । गएराति महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भोट दिएका छन् । राष्ट्रसंघमा कुल १९३ सदस्य राष्ट्र रहेपनि विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक मतदान प्रक्रियामा सहभागी भएनन् । यसअघि राष्ट्रसंघीय मानव अधिकार परिषद्मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो । परिषद्मा ४७ देश सदस्य छन् । यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्मा पनि भारत र चीन तटस्थ बसेका थिए । राष्ट्रसंघमा रहेका १९३ सदस्य मुलुकले यसअघि युक्रेनमाथि भएको आक्रमणबारे आफ्नो धारणा राखेका थिए ।





