काठमाडाैं ।। नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटीको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी अघि बढाउनका लागि भएको छलफल र आधिकारिक धारणा बनाउने बारेमा कुराकानी हुने प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । वर्तमान सत्ता गठबन्धन जोगाउनका लागि एमसीसी परियोजना अघि बढाउन एकीकृत समाजवादी पार्टीले सहमति जनाएपछि अध्यक्ष माधवकुमार नेपालले स्थायी कमिटीको बैठक बोलाउनु भएको हो । तर एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल नेतृत्वको समितिले एमसीसी संसोधन नगरी पारित गर्न नहुने निष्कर्ष पछिल्लो पटक बसेको स्थायी कमिटीको बैठकमा पेश गरेको थियो । नेकपा एसका एक नेताका अनुसार अध्यक्ष नेपालले उच्चस्तरमा भएको सहमतिका बारेमा जानकारी गराएपछि त्यसैअनुसारको रणनीति बनाउने तयारी नेताहरूको छ । कार्यकर्तालाई एमसीसीविरुद्ध सडकमा उतार्ने, पार्टीलले बनाएको समितिले संसोधन नगरी पारित गर्न नहुने भन्ने अनि नेतृत्वले एमसीसी पारित गराउने सहमति गर्नु दोहोरो चरित्र भन्दै सम्मानित नेता खनाल लगायतमा असन्तुष्टि बढेको छ । नेपाली काँग्रेससँगको पछिल्लो छलफलमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी पुरक प्रस्ताव पेस गर्दै एमसीसी परियोजना संसदबाट पारित गर्न सघाउन तयार भएका खबर सार्वजनिक भइरहेका छन् ।
एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक बस्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












