काठमाडाैं ।। रुसी सेनाको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले बताउनुभएको छ । आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक र सर्वसाधरण रहेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । रुसी सेनाले चेर्नोबिलमा रहेको रेडियोधर्मी पदार्थ रहेको स्थानमा आक्रमण गरेपछि त्यहाँको आणविक भट्टीसमेत कब्जा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । चोर्नेबिल कब्जा गरेसँगै रुसले युक्रेनमात्र नभएर पूरा युरोपविरुद्ध युद्धको घोषणा गरेको युक्रेनी राष्ट्रपति जोलेन्स्कीले आरोप लगाउनुभएको छ । उहाँले सन् १९८६ मा आणविक भट्टी विस्फोट हुँदा थुप्रै युक्रेनीले ज्यान गुमाउनुपरेको भन्दै त्यसलाई दोहोरिन नदिने दाबी पनि गर्नुभयो । बेलारुस र युक्रेनको सीमानजिकै रहेको चेर्नेबिल भट्टीमा अहिले पनि ठूलो परिमाणमा असुरक्षित रेडियोधर्मी पदार्थ भण्डारण गरिएको छ । उक्त प्लान्ट विस्फोट भए त्यसको असर पूरै युरोपमा पर्ने बताइएको छ । बढ्दो तनावका बीच युक्रेनको राजधानी किभबाट सर्वसाधारणहरू स्लोभाकिया र हंगेरीको सीमातर्फ लागेका खबरमा उल्लेख छ । सरकारले भर्खरै राजधानी किभमा कफ्र्युको घोषणासमेत गरेको छ । युक्रेन सीमा रक्षक सेवा (डीपीएसए)ले १८ देखि ६० वर्ष उमेरका सबै पुरुषलाई देश छोड्न प्रतिबन्ध लगाएको छ । हिजो रुसले युक्रेनका विभिन्न स्थानमा आक्रमण सुरु गरेपछि विश्व राजनीति तरंगित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here