काठमाडाैं ।। नेपालमा कोरोनाविरुद्धको कम्तिामा एक मात्रा खोप लगाउनेको दर ९० प्रतिशत पुगेको छ । सरकारले सञ्चालन गरेको खोप अभियानको एक वर्षमा लक्षित उमेर समूह १८ वर्षभन्दा माथिका ९० दशमलव ४ प्रतिशतले कम्तिमा एक मात्रा कोरोनाविरुद्धको खोप लगाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षभन्दा माथिका ७६ दशमलव ३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै मन्त्रालयका अनुसार १२ देखि १७ वर्षका ८७ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएका छन् भने ४३ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । यो १२ देखि १७ वर्ष उमेर समूहको ३ चौथाइ हो । सरकारले कोरोना महामारीबाट जोगिनका लागि पछिल्लो समय खोप अभियानलाई तीव्रता दिँदै आएको छ । जस अनुसार अबको केही समयपछि ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि पनि खोप ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । यसैबीच, बेलायतले २१ लाख मात्रा कोरोनाविरुद्धको खोप नेपाललाई हस्तान्तरण गरेको छ । हिजो नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई भेटेर कोरोनाविरुद्धको खोप हस्तानतरण गर्नुभएको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको लक्ष्य अनुसार नेपालले आगामी वर्षको असार १५ सम्म कुल जनसङ्ख्याको ७० प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने छ । हालसम्म नेपालको कुल जनसङ्ख्याको ५७ दशमलव ६ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइसकेका छन् ।





