काठमाडौँ ।। केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्याङ्कमा चित्त नबुझेको भन्दै स्थानीय सरकारले आफै गणना सुरु गरेका छन् । तथ्याङ् बिभागले २ हप्ता अघि नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेपछि तथ्याङ्कलाई लिएर बिभिन्न कोणबाट बहस भइरहेको छ । हालको प्रारम्भिक तथ्याङ्क २०६८ को गणनामा देखिएको तथ्याङ्कसँग अमिल्दो रहेको भन्दै केही स्थानीय तहले पुनः गणना सुरु गरेका हुन् । रामेछापको खाँडादेवी गाउँपालिकाले फेरि गणना सुरु गरेको अध्यक्ष प्रेमबहादुर तामाङले बताउनुभयो । यस्तै बाजुराको गौमुल गाउँपालिकाले २०७७ सालमा लिएको तथ्याङ्कमा पालिकामा १० हजार ६ सय ९४ नागरिक रहेकामा राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा ८ हजार ७ सय ६५ जना रहेको उल्लेख भएपछि पालिकाले पुनः गणनाको माग गरेको छ । विभागको तथ्याङ्क अनुसार मनाङको नार्पाभूमि गाउँपालिकामा जम्मा ४ सय ४२ नागरिक छन् । गाउँपालिकाको अनुमान र बिभागको तथ्याङ्क मेल नखाएपछि पुनः गणनाको तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मिङमा छिरिङ लामाले बताउनुभयो । विभागको तथ्याङ्कमा नागरिक, स्थानीय तहदेखि सांसद सम्मले असन्तुष्टि व्यक्त गरेका छन् । विभागका सूचना अधिकारी तिर्थराज चौलागाईले प्रारम्भिक तथ्याङ्कमा कुनै पनि गल्ती नभएको दाबी गर्नुभयो । जनगणनाबाट नागरिकको सङ्ख्या मात्रै होइन, भाषा, भेष, धर्म, पेशा, रोजगारी देखि शैक्षिक, आर्थिक, सामाजिक अवस्था सम्म एकिन हुन्छ । जसबाट देशको हरेक तथ्य तथ्याङ्क एकिन हुनुपर्ने हुन्छ । जनगणनामा देखिएको असन्तुष्टि स्वभाविक भएपनि आफुखुशी गणना गर्नु भन्दा पनि गणना पश्चातको सर्वेक्षणबाट त्रुटि सच्याउन तर्फ लाग्नुपर्ने जनसङ्ख्या विज्ञ डा. रुद्र सुवालले बताउनुभयो । २०६८ सालको जनगणना अनुसार नेपालमा २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जना जनसङ्ख्या रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here