काठमाडाैं ।। आगामी जेठमा स्थानीय तहको निर्वाचन हुने निश्चित भएपछि राजनीतिक दलहरूले आन्तरिक तयारी सुरु गरेका छन् । स्थानीय तहसम्मै पुग्नेगरी कार्यक्रम बनाउन निर्देशन दिनेदेखि पार्टीको घोषणा पत्रको बारेमा पनि छलफल गर्न थालेका छन् । माओवादी केन्द्रका नेता देव गुरुङले विगतको अभ्यास र सिकाइका आधारमा पार्टीले स्थानीय तहको निर्वाचनको तयारी सुरु गरेको बताउनुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र लेखनका लागि समीक्षा कार्यक्रम राख्ने तयारी गरेको छ । घोषणापत्र निर्माणका लागि सातै प्रदेशका नेताहरूसँग सुझाव लिने तयारी भएको एमाले स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले बताउनुभयो । नेपाली काँग्रेसले स्थानीय तहको चुनावका बारेमा कार्यसम्पादन समितिको बैठकमा छलफल गरेर मात्रै रणनीति बनाउने भएको छ । पार्टीको बैठकपछि स्थानीय तहको तयारी सुरु गर्ने काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौरको भनाइ छ । निर्वाचन आयोग सरकारले स्थानीय तहको मिति घोषणा गर्नेवित्तिधै सार्वजनिक गर्नेगरी कार्यतालिका निर्माणमा जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिले मतदाता नामावली सङ्कलन लगायतका काम निरन्तर भइरहेको बताउनुहुँदै निर्वाचन मिति घोषणा भएपछि कार्यतालिका निर्माण लगायतका काम हुने जानकारी दिनुभयो ।सरकारमा रहेका राजनीतिक दलहरूले आगामी जेठ महिनाभित्रै स्थानीय तहको चुनाव गर्ने सहमति गरे पनि निर्वाचन आयोगले भने जेठ ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिइसकेको छ ।
जेठमा स्थानीय तहको निर्वाचन हुने भएपछि राजनीतिक दलहरू आन्तरिक तयारी गर्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।