काठमाडाैं ।। ‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गराै भन्ने नाराका साथ आज विश्व क्यान्सर दिवस नेपालमा पनि मनाइँदै छ । युनियन फर इन्टरनेसनल क्यान्सर कन्ट्रोल (युआइसीसी) ले हरेक फेब्रुअरी ४ तारिखमा विश्व क्यान्सर दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा नेपालमा पनि क्यान्सरको क्षेत्रमा सक्रिय अस्पताल तथा सङ्घसंस्थाले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दैछन् । पछिल्लो समय क्यान्सर पहिचान र उपचारमा नागरिकको पहुँच बढ्दै गएको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा मदन पियाले बताउनुभयो । सरकारले दिने सहुलियतका कारण पनि क्यान्सरको उपचारमा जनताको पहुँच बढ्न थालेको उहाँकोे भनाइ छ । सुरुवाती अवस्थामा पहिचान गरेर उपचार गरेमा महिलाको स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर र पाठेघरको क्यान्सर निको पार्न सकिने डा. पियाको भनाइ छ । अन्य क्यान्सर पनि सुरुको चरणमै पत्ता लागेर उपचार गर्दा निको हुने सम्भावना ९५ प्रतिशतसम्म रहने र अन्तिम अवस्थाको क्यान्सर छ भने ४–५ वर्षको हिसाबमा १२–१३ प्रतिशत निको हुने सम्भावना हुने चिकित्सकहरूको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा ३२ हजार क्यान्सरका बिरामी छन् । नेपालका स्वास्थ्य संस्थाले भने करिव ५० देखि ६० हजार क्यान्सरका बिरामी रहेको बताउँदै आएका छन् ।
आज विश्व क्यान्सर दिवस मनाइँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।