काठमाडौँ ।। कोरोना भाइरसको सङ्क्रमण देखिने वित्तिकै सबैभन्दा पहिला विद्यालय बन्द गर्ने निर्णय हुँदा विद्यार्थीहरू प्रभावित हँुदै आएका छन् । यस पटक पनि बालबालिकाको जीउज्यान सुरक्षित राख्न भन्दै विद्यालय बन्द गरि अनलाइन, रेडियो, टेलिभिजन दूर शिक्षा लगायत बैकल्पिक विधिबाट बालबालिकाको पढाई सञ्चालन गर्न सरकारले बिद्यालयहरूलाई निर्देशन दिएको छ । तर सबैको पहुँचमा इन्टरनेट नहुने भएकाले अनलाईनक कक्षा प्रभावकारी नहुने काभ्रेका सर्मिला घोरासैनीले बताउनुभयो । कोरोना महामारीका कारण ३ वर्षदेखि एउटै कक्षामा बालबालिका पढ्न बाध्य भएका काठमाण्डौं दक्षिणकालीका ५८ वर्षका सानु तामाङले बताउनुभयो । बालबालिकाले धेरै कुरा हाउभाउबाट पनि सिक्ने भएकाले भौतिक रुपमा विद्यालय बन्द हुँदा सिक्ने र सिकाउने दुवैलाई गारो भएको एक जना शिक्षक टेकनारायण ढकालले बताउनुभयो । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यो महाव्यादीमा बालबालिकालाई जोगाउनु महत्वपूर्ण भएकाले उनीहरुकै सुरक्षाको लागि विद्यालय बन्द गरेकाले सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । अहिले देशभर २७ हजार ८ सय १२ सामुदायिक र ६ हजार ७ सय ३२ निजी गरी ३५ हजार ६ सय ७४ विद्यालय छन् । यी विद्यालयमा ८१ लाख बत्तिस हजार ४ सय ३५ बालबालिका अध्ययनरत छन् ती मध्ये वैकल्पिक शिक्षण सिकाईमा २७ प्रतिशत बालबालिका मात्र अनलाइन कक्षाको पहुँचमा छन् । यस्तै ८० प्रतिशत बालबालिका रेडियो र ५० प्रतिशत बालबालिका टेलिभिजनको माध्यमबाट शिक्षामा जोडिएका शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क छ ।





