काठमाडाैं ।। भारतमा कोभिडको तेस्रो लहर तीव्र गतिमा फैलिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ। देउवा यही पुस २५ गते भारत जाने तयारी थिए। देउवा सहभागी हुने भनिएको भारतको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएसँगै अब तत्काललाई दिल्ली यात्रा रोकिएको हो। कोरोना संक्रमण बढेपछि गुजरात सरकारले आज भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित गर्ने निर्णय गरेसँगै देउवाको भारत भ्रमण स्थगित भएको हो । देउवा उक्त समिटम सहभागी हुन आइतबार भारत जाँदै थिए ।
भारतको विदेश मन्त्रालयले आज नै देउवाको भ्रमण स्थगित भएको जानकारी नयाँदिल्लीस्थित नेपाली दूतावासलाई समेत दिइसकेको छ ।
‘आज संयुक्त रूपमा भ्रमणको औपचारिक घोषणा गर्ने भन्ने थियो । तर अचानक भ्रमण स्थगित गर्नुपरेको जानकारी भारतको विदेश मन्त्रालयले दिएको छ,’ नयाँदिल्लीस्थित नेपाली दूतावास स्रोतले फरकधारसँग भन्यो ।
परराष्ट्र मन्त्रालयले देउवाको भारत भ्रमणको सम्पूर्ण तयारी गरिसकेको थियो । उनको भ्रमणमा दलमा ३० जना रहने र भारत भ्रमणका बेला केही सम्झौतामा हस्ताक्षर समेत गर्ने तयारी भएको थियो ।
प्रधानमन्त्री देउवाले भाइब्रेन्ट गुजरात ग्लोबल समिटलाई सम्बोधन गर्ने र त्यर्ही भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने तयारी गरिएको थियो ।
यही जनवरी १० बाट भारतको गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात ग्लोबल समिटको १०औं संस्करणको उद्घाटन भारतीय प्रधानमन्त्री मोदीले गर्ने घोषणा यसअघि नै गरिएको थियो । गुजरात मोदीको गृह राज्य हो ।
भारतमा कोरोना भाइरसको संक्रमण पछिल्ला दिन ह्वात्तै बढेपछि गुजरात सरकारले भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित गर्ने निर्णय आज गरेको हो । समिट जनवरी १० देखि १२ सम्म तीन दिन चल्ने तय गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here