काठमाडाैं ।। देशका विभिन्न ठाउँमा वर्षा र हिमपात भएसँगै चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले हिजोदेखि नै देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले यो प्रणाली पश्चिमबाट पूर्वतिर सर्ने क्रममा रहेकाले पानी पर्ने क्रम बढेको जानकारी दिनुभयो । उहाँका अनुसार आज दिनभरी नै देशका धेरै ठाउँमा पानी र हिउँ पर्दै रोकिने छ । भोलिदेखि भने पानी र हिउँ पर्ने क्रम कम हुँदै जाने उहाँको भनाइ छ । तर मौसम पूर्ण रुपमा भने नखुल्ने उहाँले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । यस्तै राति पनि धेरै ठाउँमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा र हिमपात हुने भएकाले यात्रा र हिमाल आरोहणमा नजान मौसमविद् नगरकोटीले सुझाव दिनुभयो । दिउँसोपनि मौसम बदली भएपछि देशभर अधिकतम तापक्रम पनि घटेकाले चिसो बढेको हो । जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री र अधिकतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै जोमसोमको न्यूनतम तापक्रम माइनस १ दशमलव २ डिग्री र अधिकतम तापक्रम ७ डिग्री सेल्सियस, लुम्लेको न्यूनतम तापक्रम २ डिग्री र अधिकतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here