काठमाडाैं ।। नेपाली काँग्रेसका शीर्ष नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका छन् । पार्टीको १४औँ महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफलमा जुटेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई भेटेरै तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन दवाव दिने निष्कर्ष निकालेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिन निकै ढिला भइसकेको र त्यसले गर्दा विभिन्न आशङ्का उब्जन थालेको उनीहरूको बुझाइ छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन तत्काल सक्रियता देखाउनुपर्ने भन्दै उपसभापति निधिले यसले गठबन्धन र काँग्रेसलाई मात्र होइन, सिङ्गो मुलुकलाई नोक्सान हुने बताउनुभयो । सरकारले अहिलेसम्म पूर्णता पाउन निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा समेत असर पर्ने भन्दै मन्त्रिपरिषद् अहिलेसम्म पूर्णता नपाउँदा अबको चुनावमा गठबन्धनका योगदान र योग्यतामा प्रश्न उठ्ने भएकाले त्यसमा ध्यान दिनुपर्ने उनीहरूको निष्कर्ष छ ।





