काठमाडौँ ।। यस वर्ष धान रोप्ने बेलामा मलको अभाव देखिएको छैन । धान रोप्नका लागि आवश्यक मल सजिलै पाइरहेको किसानहरूले बताएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. १ का खेमराज अवस्थीले ४ रोपनी खेतमा धान र १२ रोपनीमा तरकारी खेती गर्दै आउनु भएको छ । उहाँलाई वर्षको ३ क्विन्टल रासायनिक मल आवश्यक पर्छ । गएको वर्ष एक क्विन्टल मात्रै मल पाउनु भएका उहाँले यस वर्ष धान र तरकारीका लागि डेढ क्विन्टल मल किनिसकेको हुनाले मलको अभाब नभएको उहाँ बताउनुहुन्छ । सरकारले चालु आर्थिक वर्षमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले ३ लाख ४८ हजार मेट्रिक टन भन्दा बढी रासायनिक मल बिक्री गरेको छ । अझै ६० हजार मेट्रिक टनभन्दा बढी मल गोदाममै रहको सरकारले बताएको छ । चालु आर्थिक वर्षमा कृषि सामग्री कम्पनी लिमिटेडले युरिया १ लाख ४० हजार, डिएपी ९३ हजार र पोटास १० हजार २ सय ३ मेट्रिक टन गरी २ लाख ४० हजार २ सय ८३ मेट्रिक टन खरिद गरेको थियो । २ लाख २ हजार ७ सय ६८ मेट्रिक टन बिक्री भएकोमा झण्डै ४० हजार मेट्रिक टन मल जगेडा छ । असार भित्रमा थप ३० हजार मेट्रिक टन युरिया आइपुग्ने र धानका लागि मलको अभाव नहुने प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताउनुभयो । साल्ट ट्रेडिङ कर्पोरेशनले पनि एक लाख ४५ हजार ५ सय मेट्रिक टन विक्री गरेकोमा २० हजार ५ सय मेट्रिक टन रासायनिक मल जगेडा रहेको जनाएको छ । यस वर्ष किसानले धानमा हाल्ने मलका लागि लाइन बस्न नपर्ने कृषि मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा श्रीराम घिमिरेले बताउनुभयो । देशभर ३१ लाख हेक्टर खेतीयोग्य जमीनमा खेती गर्ने हो भने १३ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । तर आवश्यक मल आपूर्तिका लागि सरकारको पूर्वतयारी भने नपुगेको राष्ट्रिय किसान आयोगका सदस्य तथा प्रवक्ता जिवन्ती पौडेलले गुनासो गर्नुभयो । सरकारले वार्षिक ३ लाख देखि ३ लाख ५० हजार मेट्रिक टनको हाराहारीमा मात्रै रासायनिक मल किन्ने गरेको छ । यस पटक किसानले मल खोज्दै भौतारिनु पर्ने अवस्था नआउने सरकारले बताएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here