बारा ।। बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ को टाङ्ग्या बस्ती बसेको ४५ वर्ष भयो । राष्ट्रिय गौरबको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा यो बस्ती छ । विमानस्थल निर्माण अनिश्चित बन्दै गर्दा यहाँ बसोबास गर्ने १४ सय ७६ घरधुरीको दैनिकी पनि कष्टकर छ । टाङ्ग्या बस्तीका तिलक मोक्तान निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि पूर्वसम्भाव्यता अध्ययन भएकै वर्ष अर्थात २०५१ सालमा जन्मिनुभयो । उहाँ १० वर्षको हुँदादेखि छिट्टै विजुली बाल्न पाइन्छ भन्ने सुनेको याद छ । १७ वर्ष बित्यो, ५ किलोमिटर उत्तरमा पर्ने निजगढ बजारको झिलिमिली हेरेर चित्त बुझाउनुपरेको छ । नेपाल विद्युत प्राधिकरणले ३ वर्षअघि यो क्षेत्रमा बिद्युत बिस्तारका लागि ९६ लाख ७ हजार रुपैयाँ लाग्ने अनुमान गरेको थियो । स्थायी संरचना निर्माण नगर्न निजगढ विमानस्थल आयोजना कार्यालयबाट पटक पटक पत्राचार भएपछि कामै अघि नबढेको वडा अध्यक्ष केदारनाथ बजगाईको भनाइ छ । टाङ्ग्या बस्तीमा समस्या बिजुलीको मात्र होइन, ३ किलोमिटरको दुरीमा रहेको पूर्वपश्चिम राजमार्गसँग जोडिन सडक पनि राम्रो छैन । २ वटा सामुदायिक विद्यालय छन् तर गतिला भवन छैनन् । खानेपानीका लागि ट्याङ्की निर्माणको कुरा जति उठाए पनि सुन्ने कोही छैन भन्नुहुन्छ टाङ्ग्या बस्ती सरोकार समितिका सचिव सुमन थोकर । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सुरु भएको २७ वर्ष भए पनि सरकारले बजेट छुट्टाउन थालेको आर्थिक वर्ष २०७१÷७२ बाट मात्रै हो । विमानस्थलमाथि हुने राजनीतिका कारण निर्माण कार्य पछाडि धकेलिँदै छ । स्थानीयका अनुसार विद्युत, सडक, पानीसँग सम्बन्धित कार्यालयलाई टाँग्याबस्तीका लागि मात्र कुनै काम नगर्नु भन्ने गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका इन्जिनियर विजय यादव भने पूर्वाधार व्यवस्थापनको काम भइरहेको बताउनुहुन्छ । चालु आर्थिक वर्षबाट निजी जग्गामा बसोबास गर्नेहरूलाई मुआब्जा वितरण र पूर्व पश्चिममा पर्ने नदी नियन्त्रणको काम सुरु भएको छ । जुन सरकार बने पनि विमानस्थल निर्माण कार्य सकिन्छ भन्छन् तर टाँग्याबस्तीबासी ढुक्क देखिँदैनन् । निजगढ विमानस्थलमा सरकारबाटै कम्जोरी भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल स्वीकार्नुहुन्छ । २७ वर्षमा पनि बन्नेनबन्ने टुङ्गो नलागेको विमानस्थलसँग टाँग्याबस्तीबासीको खासै चासो र चिन्ता छैन । पुनर्बासको मापदण्ड अनुसार बस्ती स्थानान्तरणको माग गर्ने उनीहरू बिजुली, पानी, सडक, शिक्षा लगायत सुविधा पाउने आफ्नो अधिकार विमानस्थल निर्माणमा भएको गलफत्तिसँगै रोकिदिएकोमा भने दुखी छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here