काठमाडाैं ।। उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बङ्ग्याएर र गलत अर्थ लाग्नेगरी प्रचारप्रसार गरिएको भन्दै ध्यानाकर्षण भएको बताउनुभएको छ । गएराति विज्ञप्ति निकाल्दै मन्त्री महतोले आफू राष्ट्रिय एकता, अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै भ्रममा नरहन अनुरोध गर्नुभएको छ । यसअघि उहाँले नेपाल बहुल राष्ट्र हुनुपर्नेमा जोड दिँदै यसका लागि मुक्ति आन्दोलन गर्ने चेतावनी दिएका खबर सार्वजनिक भएका थिए । आफूले संविधानको धारा ३ मा उल्लेख भए बमोजिम बुहजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक विशेषतायुक्त भौगोगिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समस्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाती वर्ग समुदाय धर्म, लिङ्गको साझ राष्ट्र हो भन्ने आशय व्यक्त गरेको उहाँको भनाइ छ । विज्ञप्तिामा संविधानमा रहेका असन्तुष्टी सम्बोधान गर्न संशोधनका लागि गठित कार्यदलमा आफ्ना धारणा राख्ने पनि महतोले उल्लेख गर्नुभएको छ ।





