काठमाडाैं ।। नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका सांसदहरुले भोलिको सङ्घीय संसद बैठकमा मत दिन पाउने भएका छन् । आज नयाँवानेश्वरमा बसेको कार्यव्यवस्था समितिको बैठकले संसदको विशेष अधिवेशनमा कोरोना सङ्क्रमित सांसदलाई मत दिनबाट नरोक्ने निर्णय गरेको हो । सङ्क्रमण भएका सांसदलाई बाहिर राख्ने र मतदानको बेला भित्र प्रवेश दिने र छुट्टै कोठामा मतदान गर्ने व्यवस्था मिलाउने निर्णय कार्यव्यवस्था परामर्श समितिमा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि भोलि सङ्घीय संसदको विशेष अधिवेशन बोलाइएको छ । बैठकमा कोरोना सङ्क्रमित सांसदलाई सहभागी गराउने वा नगराउने बारेमा छलफल गर्न सभामुख अग्नी सापकोटाले आज कार्यव्यवस्था समितिको बैठक बोलाउनुभएको थियो । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार २ सय ५ जना सांसदले नयाँवानेश्वरमा जाँच गराउँदा प्रतिनिधिसभाका १८ जना सांसदमा कोरोना देखिएको छ । टेकुमा पुगेर आफैँ जाँच गराएका मध्ये १० जना सांसदमा पनि कोरोना देखिएको छ । यसोहुँदा कोरोना सङ्क्रमित हुने प्रतिनिधि सभाका सांसदको सङ्ख्या २८ पुगेको छ । ५० जना सांसदले भने पीसीआर जाँच गराएका छैनन् । सभामुखका सञ्चारविज्ञ न्यौपानेका अनुसार उनीहरुलाई जाँच गराउनका लागि संसद सचिवालयले सूचना दिइसकेको छ । कार्यव्यवस्था समितिको बैठकले प्रधानमन्त्रीको विश्वासको मत लिने प्रक्रिया भोलि एकै दिनमा टुङ्ग्याउने निर्णय पनि गरेको छ ।
कोरोना सङ्क्रमित भएका सांसदले विश्वासको मत दिन पाउने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।