काठमाडाैं ।। निषेधाज्ञा अवधिभर तोकिएका अत्यावश्यक सेवा र वस्तुका सवारीसाधन तथा व्यक्तिलाई आउजाउका लागि पास नचाहिने जनाएको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले यही वैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका छन् । यो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैँक, वित्तिय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमार्फत त्यस्ता कार्यमा यात्रा गर्दा कँही कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न अनुरोध गरिएको छ । वैशाख १७ गतेदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेक जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सवारी पास जारी नहुने पनि सूचनामा भनिएको छ ।





