काठमाडौं ।। मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्राप्त गरेकी छन्। एसिड आक्रमणमा परेकी मुस्कानले एसिड पीडितकै पक्षमा संघर्ष गर्दै आएकी छन्।
काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल वुमन अफ करेज अवार्ड पाएकी हुन्।
यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन्। उनी सो अवार्ड पाउनेमध्ये संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति पनि हुन्।
खातुन गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा परेकी थिइन् । एसिड आक्रमण अन्त्यका लागि उनले गरेका कामका लागि खातुनलाई यो अवार्ड प्रदान गरिएको हो ।
यसअघि सो अवार्ड पाकिस्तानकी नोबेल पुरस्कार विजेता मलाला युसफजाईले पाएकी थिइन्।
सन् २००७ बाट सुरु गरिएको यो अवार्डका लागि विश्वभर विभिन्न मुलुकमा रहेका अमेरिकी दूतावासहरुले उम्मेदवार सिफारिस गर्छन्। यस वर्ष नेपालस्थित अमेरिकी दूतावासको सिफारिसमा परेकी मुस्कानले यो अवार्ड प्राप्त गर्न सफल भएकी हुन्।
मुस्कानलाई ०७६ भदौ २० गते बिहान स्कुल जाने क्रममा दुई किशोरले एसिड आक्रमण गरेका थिए। आक्रमणको केही महिनापछि उनले एसिड आक्रमण अन्त्य गर्नुपर्छ भन्दै अभियान सुरु गरेकी थिइन्।
अहिले कानुनमा एसिड आक्रमण गर्नेलाई कडा दण्डको व्यवस्था गरिएको छ। नयाँ कानुनमा एसिड आक्रमण गर्नेलाई अधिकतम २० वर्ष जेल सजाय र १० लाख जरिवाना हुने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका प्रावधान राखिएको छ।
 
            
 
		