काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मोरङ जाँदै हुनुहुन्छ । सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती शिलान्यास गर्नका लागि प्रधानमन्त्री ओली आज मोरङ जान लाग्नुभएको हो । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत बस्ती विकास गर्ने सम्पूर्ण तयारी भइसकेको छ । एकीकृत सन्थाल बस्ती निर्माणको लागि मास्टर प्लान तयार भइसकेको छ । मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १ सय ६ सन्थाल जातिको गरी कूल १ सय ३२ वटा घर निर्माण गर्न लागेको हो । पूरै बस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने अनुमान छ । एकीकृत बस्ती विकास सन्बन्धी कार्यविधि २०७५ अनुसार सन्थाल बस्तीको निर्माण स्थानीय प्रविधि, सिप र सामाग्री प्रयोग गरी गरिने छ । प्रत्येक परिवारका लागि कम्तीमा २ सयन कोठा, एक भान्सा कोठा र एक शौचालयको व्यवस्था गरिने छ । समग्र वस्तीका लागि भने आवश्यक पर्ने अन्य सामाजिक तथा आर्थिक पूर्वाधार अन्तर्गत सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायत निर्माण गर्ने गरी मास्टर प्लान डिजाइन गरिएको मन्त्रालय मातहतको सघन शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
प्रधानमन्त्री ओली आज मोरङ जाँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












