दार्चुला ।। बैतडीको पुर्चाैडी नगरपालिका वडा नम्बर १० महरागाउँका धनबहादुर महरालाई आफ्नै छोरीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । माघ २४ गते दिउँसो माइती घरमा आएकी २० वर्षका छोरी बेलमती महरा धामीलाई बुवा धनबहादुरले गोली हानी हत्या गरेका थिए । श्रीमतीसँगको झगडाको झोकमा आफ्नै छोरीको पछाडीबाट गोली हानी हत्या गरेर धनबहादुर शनिबारदेखि नै फरार थिए । ९ महिने छोरालाई खाना खुवाउने क्रममा शनिबार दिउँसो बेलमतीलाई गोली हानी हत्या गरेका धनबहादुरले राती दोस्रो घरमा आगो समेत लगाएका थिए । घटना पश्चात् घरमा प्रहरीले सुरक्षा दिइरहेको थियो भने धनबहादुरलाई खोज्न प्रहरी टोली पनि परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षक हरिशरण भट्ट नेतृत्वको टोली घटना स्थलमा खटिएको थियो । साथै सशस्त्र प्रहरीको टोली समेत घट्ना स्थलमा परिचालन गरिएको थियो । घट्ना भएको चौथो दिन धनबहादुर महरालाई बैतडीकै दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ मल्लेखबाट नियन्त्रणमा लिइएको छ । स्थानीयको सहयोगमा फरार हत्या आरोपीलाई समात्न सफल भएको प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । फरार धनबहादुरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखी थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।
आफ्नै छोरीको हत्या गरेको अभियोगमा बुवा पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।