काठमाडौं ।। नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । पहिलो चरणमा कोरोना महामारी विरुद्ध अग्रपंक्तिमा खटिएकाहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ । कोरोना विरुद्धको खोप लगाएर चिकित्सकहरुले खोप लगाएपछि उत्साहित भएको प्रतिक्रिया दिएका छन् । कोरोना विरुद्धको खोप लगाउने सरकारले तयारी गरेकै समय जनस्तर र स्वास्थ्यकर्मीबाटै विभिन्न शङ्का उपशङ्का भइरहँदा हिजो चिकित्सकहरुले उत्साहजनक रुपमा कोरोना विरुद्धको खोप लगाएर सबैलाई सकारात्मक सन्देश दिएका छन् । गण्डकी प्रदेशका ११ जिल्लाका १४ वटा खोपकेन्द्रबाट खोप लगाउन सुरु गरिएको छ । पहिलो डोज खोप लगाएपछि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्मालाई अब कोरोना जितिन्छ भन्ने लागेको छ । केही व्यक्तिलाई खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिङ्गाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता समस्या हुन सक्ने चिकित्सकहरु बताउँछन् । भेरी प्रादेशिक अस्पताल बाँकेका प्रमुख डा. प्रकाश थापाले अन्य खोप लगाए सरह कोरोना विरुद्धको खोप लगाउनुभयो तर उहाँमा कुनै समस्या देखिएको छैन । कोरोना विरुद्धको खोप अन्य खोप समान रहेकाले डराउनु पर्ने र आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । महामारी विरुद्धको लडाईंमा कोरोना विरुद्धको खोपले नयाँ आशा पलाएको उहाँको भनाइ छ । सुदुरपश्चिम प्रदेशले बाजुरा बाहेकका सबै जिल्लामा खोप लगाउन सुरु गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले कोरोना विरुद्धको खोप लगाएर उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ । चितवनको भरतपुर अस्पतालमा मात्रै ७ सय कर्मचारी कार्यरत छन् । पहिलो खोप लगाउनु भएका मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीलाई खोप लगाएको ठाउँमा दुख्ने बाहेक अरु कुनै समस्या देखिएको छैन । उहाँले यी समस्या सामान्य भएकाले डराउनुपर्ने अवस्था नरहेको र सबैलाई निर्धक्क साथ कोरोना विरुद्धको खोप लगाउन पनि आग्रह गर्नुभएको छ । विश्वका विकसित देशहरुमा समेत कोरोना विरुद्धको खोपको परीक्षण भईरहेको छ । भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको कोभिशिल्ड खोप लगाएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेर बहादुर पुन पनि खुशी हुनुहुन्छ । खोप लगाएपछि खुशी भएको भन्दै उहाँले महामारी विरुद्धको लडाईंमा कोरोना विरुद्धको खोपले आशा जगाएको बताउनुभयो । चिकित्सकहरुका अनुसार १८ वर्ष उमेर नपुगेकाले यो खोप लगाउन हुँदैन । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवती, कोरोना सङ्क्रमित व्यक्तिहरुले पनि खोप लगाउन हुँदैन । पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या देखिएका व्यक्तिलाई दोस्रो डोज नदिईने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here