जुम्ला ।। जुम्लाको गोठी गाउँमा आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् । जिल्लाको तिला गाउँपालिकाको गोठी गाउँमा गएराति आगलागी हुँदा ३० घर जलेर नष्ट भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले जानकारी दिनुभयो । आगलागिमा पशु चौपाया पनि जलेर मरेका छन् । सुधारिएको चुल्होको माथिल्लो भागबाट एक घरको छानोमा रहेको घाँसमा आगो सल्किएपछि गाउँभरि फैलिएको थियो । चौलागाईंका अनुसार आगलागी भएको गाउँतर्फ प्रहरीको टोली गइसकेको छ । आगलागीमा के कति क्षति भएको छ भन्ने यकिन विवरण आउन बाँकी रहेको र घटनास्थलतर्फ नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली परिचालन गरिएको छ । आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब चार घण्टा लाग्छ । काठैकाठका घरहरु बढी भएकाले आगलागी बढेको आशंका गरिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।