काठमाडौं । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनकारी मात्र नभएर महाप्रतिगमनकारी रहेको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा) (ओली समूह) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यसअघि संविधानमा मधेशको अधिकारविना संविधान जारी गरेर प्रतिगमन गरेका थिए भने पछिल्लो समय पुस ५ गते प्रतिगमन गरेको उनले आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री ओली महाप्रतिगमनकारी भएकाले त्यसको अन्त्य निश्चित छ ।’संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीले सप्तरीको राजविराजमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता महतोले लोकतन्त्रलाई धरापमा पार्ने काम गरेकाले ओलीको पतन एकदमै आवश्यक रहेको बताए ।संविधान निर्माण गर्नेबेला मधेशीको हत्या गर्ने ओली हत्यारा समेत रहेका भन्दै नेता महतोले मञ्चबाटै केपी ओली मुर्दावाद भनि नारा लगाएका थिए । मधेशका लागि कम्युनिस्ट र काँग्रेस उस्तै–उस्तै पार्टी रहेको भन्दै उनले कम्युनिस्ट र काँग्रेसको विकल्पमा जसपा नेपाल गठन भएको धारणा राखे । उनले भने, ‘मधेशी जनतालाई कम्युनिस्ट र काँग्रेसले विभिन्न लोभमा फँसाउने षड्यन्त्र गरिरहेका छन् त्यसमा कुनै पनि हालतमा फस्नुहुँदेन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here