— उपेन्द्र झा ।। नेपालको राजनीतिक कोर्स परिवर्तन गर्ने निर्देशित योजना अनुसार नै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र तनाव बढाएर विभिन्न बहानामा पौष ५ गते संसद विघटन गरी सडक संघर्षलाई जन्म दिएको प्रवुद्धवर्गको आँकलन छ ।
एमाले र माओवादी दुई विपरीत धारको पार्टीलाई एकीकरण गर्ने क्षमता राख्ने केपी शर्मा ओलीले पार्टीभित्र उठेका सामान्य अन्तविरोधलाई साम्य पार्न सक्दैनथ्यो ? आफूले नरुचाएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिवर्तन गर्ने शक्ति केन्द्रसँग कुरा मिलेपछि कसैलाई केही नसोधी वर्तमान राजनैतिक प्रणालीलाई समाप्त गरि नयाँ संविधान बनाउने वातावरणको खोजी गर्न नियम कानूनलाई कुल्चेर पनि संसद विघटन गरी अर्को राजनैतिक अवस्था सिर्जना गरि दिएको हो ।
जनताबाट असीम शक्ति पाएर जनप्रतिनिधी सरकारभन्दा शासकको रुपमा स्थापित हुने ओलीको निरंकूश सामन्ती संस्कार पूर्वदेखि देखिँदै आएको हो । जीवनको अन्तिम समयमा केही नयाँ कुरा गरेर गएपछि अनौठो इतिहास बनाउने उनको चाहना रहेको छ ।
आफ्नो सहकर्मी होस् कि सेवा निवृत सम्माननीय प्रधान न्यायाधीशहरु, वरिष्ठ पत्रकार होस् कि राजनैतिक विश्लेषक, राजनैतिक दलहरु होस् कि प्रवुद्धवर्ग, आफ्नो कदमलाई असंवैधानिक भन्ने जो कोहीलाई तल्लो स्थरको राजनैतिक गाली दिने घोचपेच गर्ने, अपमान गर्ने, धम्काउने प्रधानमन्त्रीको क्रियाकलाप राजनीतिलाई गलत दिशातिर लैजाने सबैले संदेह गर्न लागेको हो ।
प्रधान न्यायाधीश जस्तो गरिमामय पदको अनुभव प्राप्त गरेका सम्माननीय व्यक्तिहरुलाई सर्वोच्च अदालतमा जागिर खाएको भरमा धेरै बुझ्ने जस्ता अपमानजनक शब्दहरु प्रयोग गर्नु, प्रचण्ड–नेपाल गुटलाई “चुनाव १० वटा सीट ल्याएर देखाउन” चुनौती दिनु, सबैलाई अपमान, तिरष्कार तथा घोचपेच गरी आन्दोलन उठाउने केपी शर्मा ओलीको तीव्र–चाहना अब विस्तारै सतहमा आउन थालेको हो ।
कानून जान्ने बुझ्ने, सूक्ष्मभेदी राजनैतिक दाव बुझ्ने समाजका हरेक तब्का प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको कदमलाई, मन्त्री परिषदको विस्तारलाई तथा संवैधानिक आयोगको पदपूर्ति आदिलाई असंवैधानिक भन्दै विरोधमा उत्रेका छन् । ओलीको कदमलाई सही ठह¥याउने अन्धभक्तको पनि कमी छैन ।
राणा शासनको “मुखे कानून” किम्वदन्तीको केपमा बुढापाकाहरुको मुखबाट सुन्थे, आज प्रत्यक्ष ओलीको शासनकालमा हेर्न पाईयो । नेपालको राजनीति नेपाली काँग्रेस र नेकपाको लागि खल्तीमा रहेको “पान सुपारी” हो, जतिबेला पनि चपाउन मिल्छ । किनभने राजनीति यी दुई पार्टीको कब्जाबाट मुक्त हुन नसकेकोले यस्ता घटनाहरु स्वाभाविक रुपमा घटि रहने हो ।
आन्दोलन प्रतिको सोच
१) नेकपा प्रचण्ड–नेपाल समूहले जनताको भीषण आन्दोलनबाट आलीलाई अपदस्थ गराएर “संघीय लोकतान्त्रिक गणतन्त्र” को रक्षा गर्ने चाहनाका साथ आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाको समग्र कार्यकर्तामाझ “रुनु न हास्नु” को अवस्था छ । नेकपा (माओवादी) र एमालेबीच भएको एकीकरणपछि अहिले भएको विभाजनमा दुबैतिर दुबै पार्टीका कार्यकर्ता छन् । पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहले आन्दोलन आह्वान गरेपनि आन्दोलनमा उर्जा देखिन्न ।
२) नेपाली काँग्रेसमा आन्दोलनका लागि मति मिलेको छैन । रामचन्द्र पौडेल समूहले सरकारले “संघीय लोकतान्त्रिक गणतन्त्र” मास्न लागेको, यसको विरुद्ध आन्दोलन गरि संविधानको रक्षा गर्ने, अनि मात्र चुनाव लड्ने कानूनन् कुरा गरि रहेको छ भने देउवा समूह चुनावका लागि तयारी गर्ने मानसिकतामा छन् । कार्यकर्ताहरुको दबावका कारण आन्दोलनमा जोश जाँगर छैन । शेरबहादुर देउवा र ओलीको आन्तरिक साँठगाँठ रहेका कारण प्रणाली जे भएपनि चुनावलाई उपयोग गरी पहिलो पार्टी बन्ने देउवाको आन्तरिक मनसाय रहेकोले पार्टीभित्रको दुई धारको संघर्षका कारण आन्दोलन शिथिल रुपमा रहेको छ ।
३) जनता समाजवादी पार्टी “संघीय लोकतान्त्रिक गणतन्त्र” को संविधान घोषणाको दिनलाई “कालो दिवस” मनाउनेले आज यस संविधानको रक्षा गर्न आन्दोलनमा होमिएको छ । मधेशी जनतालाई वलिदानी आन्दोलन गर्न उक्साई रहेको छ । ओलीलाई हटाएर प्रचण्ड–नेपाललाई वा शेरबहादुर देउवालाई स्थापना गरी च्याँखे थाप्ने मनसायले जसपा आन्दोलित छन् ।
४) नागरिक समाज वुद्धिजीबी लगायत समाजका प्रवुद्धवर्ग ओलीको तानाशाही कदम विरुद्ध नैतिकताले आन्दोलनमा उत्रि रहेका छन् । अहिले दैध मनः स्थितिमा रहेका कारण आन्दोलन उर्जावान बनिरहेको छैन । तर समाजको हरेक क्षेत्र ओलीको असंवैधानिक कदम विरुद्ध रहेका कारण विस्तारै आन्दोलन चर्कने सम्भावना देखिन्छ ।
शिथिल आन्दोलन न विपक्षको लागि निर्णायक हुन्छ न ओली सरकारको लागि । त्यसैले ओली आफ्नो विरोध गर्नेहरुका लागि आक्रामक भएर आन्दोलनका लागि उक्साइरहेको छ । आन्दोलनले विध्वंशक रुप लिएपछि ओलीले पूर्व निर्धारित संकटकाल घोषणा गरी राजनैतिक कोर्स परिवर्तन गर्ने रणनीति लिएको छ । चर्को आन्दोलन विपक्षलाई फायदा दिनुको साटो ओलीको लागि लाभदायक सिद्ध हुने कुरा देखिन्छ ।
पटक पटक अग्रगमनभन्दा पश्चगमनमा देश जानुको कारण राजनीतिमा सक्रिय रुढिवादी सामन्ती प्रवृति हो जो अग्रगमनमा वर्गीय घाटा हेर्छ । पश्चगमनमा शासक र शासकीय प्रवृति लाभान्वित रहने भएकोले शासकवर्गको यो खेल जनतालाई बुझ्न अब कठीन छैन । (मधेश दर्पण फिचर सेवा)

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here