काठमाडाैं ।। सभामुख अग्नि सापकोटाको अनुपस्थितिका कारण संवैधानिक परिषद् बैठक बस्न नसकेपछि सरकारले अध्यादेश ल्याएको छ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।अध्यक्षबाहेक ४ जना सदस्य उपस्थित हुँदा मात्र संवैधानिक परिषद् बैठक बस्न सक्ने कानूनी व्यवस्था थियो । आफ्नै पार्टीबाट निर्वाचित भएका सभामुखको अनुपस्थितिमा गणपूरक
संख्या नपुगेपछि प्रधानमन्त्री ओलीले बहुमत सदस्य उपस्थित भएपनि बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएका हुन् ।
परिषद्को मंगलवारको बैठकमा प्रधानमन्त्री एवं परिषद् अध्यक्ष केपी शर्मा ओलीका अलावा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा मात्र उपस्थित भए ।प्रतिनिधि सभाको उपसभामुख नरहेकाले परिषदमा एक सदस्य भने रिक्त छ । यस्तो अवस्थामा सभामुख सहभागी नहुँदा बैठकमा गणपूरक संख्या नपुगेको हो ।
आवश्यक समन्वय नभएको र एकलौटी ढंगले विभिन्न आयोगहरूमा नियुक्तिका लागि सिफारिशको तयारी भएकाले त्यसमा असन्तुष्टि जनाउँदै सभामुख बैठकमा अनुपस्थित भएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले आफूसँग सल्लाह समेत नगरी संसद् अधिवेशन अन्त्यको सिफारिश गरेपछि सभामुख सापकोटा उनीसँग असन्तुष्ट छन् ।
संवैधानिक परिषद् बैठक आज साँझ ५ बजेका लागि पुन: बोलाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संवैधानिक अध्यादेश जारी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।