काठमाडाैं ।। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सरकारको विरोधमा देशभर प्रदर्शन गर्ने भएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले उदासिनता देखाएको, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनुहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताउनुभयो । शर्माले सरकार बने पछाडि बढिरहेको भ्रष्टाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रीत रहने उल्लेख गर्नुभयो । पार्टी सभापति शेरहादुर देउवाले हिजो वक्तव्य जारी गर्दै आजको प्रदर्शन विशेष रुपले महत्वपूर्ण भएको बताउनुभएको छ । देउवाले सरकारप्रति जनताको वितृष्णा व्यापक रुपमा बढेकोले सडकमा उत्रन काँग्रेस बाध्य भएको उल्लेख गर्नुभएको छ । प्रतिपक्षका रूपमा काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आउँदा पनि वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझेको र भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको देउवाको आरोप छ । देउवाले प्रदर्शनमा सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको छ । काँग्रेसले ७७ जिल्लामै सरकारविरुद्ध सडकमा प्रदर्शन गर्न लागेको हो । प्रदर्शन प्रभावकारी बनाउन काँग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यलाई जिल्ला पठाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here