काठमाडौं।। भारतको बिहार राज्यको मुजफ्फरपुरमा रहेको बाबासाहेब भीमराव अम्बेडकर बिहार विश्वविद्यालयमा बलिउड अभिनेता इमरान हाशमी र अभिनेत्री सनी लियोनीका छोराले स्नातक पहमा पढ्दैछन् । यो खबर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । खबर भाइरल हुन थालेपछि मानिसहरुले यो सोचिरहेका छन् कि इमरान र सनीको बिहे कहिले भयो ? वा ती छोरा यी दुइले विवाहेतर सम्बन्धबाट जन्माएका हुन् ।
द हिन्दूको रिपोर्टअनुसार खासमा यो उपद्रो तिनै विद्यार्थीको हो । विश्वविद्यालयमा स्नातक पार्ट–२ अध्ययनरत ती छात्रले परीक्षाको लागि भरिएको आफ्नो फाराममा पिताको नाम इमरान हाशमी र आमाको नाम सनी लियोनी लेखिदिए । अझै रोचक त के भने उनले आफ्नो ठेगाना चतुर्भुज लेखिदिए । चतुर्भुज मुजफ्फरपुरमा देहव्यापारका लागि प्रसिद्ध क्षेत्र हो ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. मनोज कुमारका अनुसार छात्रलाई यो कर्तुतको लागि कारवाही गरिनेछ । जाँचपछि उनले भरेको फरामलाई रद्द गरिनेछ । अनलाइन फाराम भर्ने क्रममा छात्रहरुले यस्ता उपद्रो कैयौं पटक गरेका छन् । यो परीक्षा फाराम सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । सामाजिक संजालमा फाराम भाइरल भएपछि मात्र विश्वविद्यालयले यसको जानकारी पाएको थियो ।
विश्वविद्यालय प्रशासनले जाँच गर्दा मीनापुरको धनराज भगत डिग्री कलेजको तर्फबाट भरिएको परीक्षा फाराममा पिताको नाम इमरान हाशमी र आमाको नाम सनी लियोनी लेखिएको पाइएको छ । यसअघि पनि फाराम भर्ने क्रममा विद्यार्थीले विभिन्न उपद्रो गरेका थिए । केही विद्यार्थीले फाराम भर्ने क्रममा बिल र लाइसेन्सको प्रति अपलोड गरिदिएका थिए । यस्ता फारामहरु रद्द गरिएका थिए ।