काठमाडौँ ।। भारतका विदेशमन्त्री एस जयशंकरले विगतमा नेपालसँग केही असमझदारीहरु भए पनि पछिल्ला दिनमा दुवै देशबीच समझदारी विकास हुँदै गएको बताएका छन् ।

भारतीय अंग्रेजी दैनिक द हिन्दुसँगको एक अन्तर्वार्तामा नेपालसँगको सम्बन्धको बारेमा विदेश मन्त्री जयशंकरले त्यस्तो धारणा राखेका हुन् ।

‘हो कुनै बेला हामीबीचमा केही समस्या थियो तर, अहिले हामी प्रस्ट रुपमा देख्न सक्छौं, पछिल्ला केही सातामा भारत र नेपालले मिलेर अगाडि बढ्ने निर्णय गरेका छन् र त्यो आपसी समझदारीमै भइरहेको छ,’ जयंशंकरले भनेका छन् ।

नक्सा विवादका कारण एक वर्षदेखि दुई देशबीच संवादहीनता कायम रहेकै अवस्थामा डेढ महिनाअघि भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका थिए ।

त्यसलगत्तकै भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे र भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगला काठमाडौं ओर्लेका थिए ।

भारतीय उच्च अधिकारीहरुबाट भएका लगातारका यी भ्रमणलाई भारतको नेपालसँगको संवादहीनता तोड्ने प्रयासका रुपमा लिइएको छ ।

सो पत्रिकाका लागि सुहासिनी हैदरले लिएको अन्तर्वार्तामा जयंशकरले छिमेकीहरुबीच समस्या हुनु सामान्य रहेको समेत उल्लेख गरेका छन् ।

‘कुनै दुई छिमेकी भन्नुस् जसका बीचमा समस्या नभएको होस्,’ जयंशकरले भनेका छन् ।

त्यसैगरी उनले दुई देशबीच पछिल्लो एक वर्षदेखि कायम नक्सा विवादलाई घरेलु राजनीतिको नतिजाको रुपमा समेत संकेत गरेका छन् ।

उनले अधिकांश छिमेकीहरुमा लोकतान्त्रिक व्यवस्था रहेको हुँदा सबैले आ–आफ्ना हिसाबले राजनीति गर्ने गरेका कारण समेत विवाद देखिने गरेको जनाएका छन् ।

‘उनीहरुको आफ्नो राजनीति छ । हाम्रो आफ्नै राजनीति छ । विवाद त भइहाल्छन् । मुख्य कुरा विवादलाई कसरी व्यवस्थापन गर्छौं भन्ने हो । प्रमुख प्रश्न भनेको समस्याको समाधानका लागि साझा बिन्दु कसरी पहिल्याउने भन्ने हो ?,’ जयंशकरले अन्तर्वार्तामा भनेका छन् ।

छिमेकसँगको सम्बन्धमा पछिल्ला वर्षहरुमा व्यापक परिवर्तन आएको समेत उनले दाबी गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here